२०८१ पुष २२ , सोमवार

सन्दीपलाई यूएई पठाउने तयारीमा क्यान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाए । उनले अनुमति पाएको दिन देखिनै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो ।

सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा १३ विकेट लिएका थिए । नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो । सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुन: पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने बताए ।

 

‘सन्दीपको भिसाका लागि यूएई एम्बेसीमा पासपोर्ट हिजो बुझाएका छौँ । भिजा आउने बित्तिकै टिममा राख्ने र यूएई पठाउने प्रक्रिया सुरु गर्नेछौँ,’ दाशले रातोपाटीसँगको कुराकानीमा भने । नेपालले अहिले यूएईमा पपुवा न्युगिनी (पीएनजी) र घरेलु टोली यूएईसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ । जसमा नेपालले पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएको थियो ।