२०८१ पुष २२ , सोमवार

विश्वकप छनोटमा नेपालका लागि युएईविरुद्धको अन्तिम खेल

सुनाखरी न्युज / काठमाडौँ – अब विश्वकप छनोटमा नेपालका लागि आयोजक युएईविरुद्धको अन्तिम खेल नै निर्णायक हुने भएको छ।चौथो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले नेपाललाई जितका लागि ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका स्पिनर दीपेश कँडेलले कसिलो बलिङ गरेपछि मलेसिया ३५।३ ओभरमा ७२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन बाध्य भयो।

युएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद साहिर सामल र मोहम्मद हाइरिल हरिसनले समान १२–१२ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो। नेपालका लागि दीपेश कँडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए।

 

जवाफमा नेपालले मलेसियाले दिएको उक्त लक्ष्य ९ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनरहरु दिपक बोहोरा ३८ तथा अर्जुक कुमाल २१ रनमा नटआउट रहे। नेपालले १४ रन अतिरिक्त रनका रुपमा पाएको थियो। नेपाल यु–१९ विश्वकपमा २०१६ पछि स्थान बनाउने ध्याउनमा रहेको छ।