२०८१ मंसिर १० , सोमवार

नेप्सेमा गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिनको कारोबार आज मंगलबार झिनो अंकले घटेको छ । आज नेप्से ३.८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३८ करोड ७८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४५ रुपैयाँ पुगेको छ । यसका साथै आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५१२.५० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल १० प्रतिशतले बढेर प्रतिकित्ता ११३१.९० रुपैयाँ पुगेको छ ।

 

आज प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ ।