सुनाखरी न्युज/ काठमाडौं । जेलमुक्त भएर काठमाडौं आएका अभिनेता पल शाहलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले घरतर्फ लगेको छ । पलको प्रतिक्षामा रहेका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको हो ।
पल आउनुअगावै उनको स्वागतमा विमानस्थलको आन्तरिक टर्मिनल अगाडि ठूलो भिड जम्मा भएको थियो । युट्यूबरहरु उनको ‘जेलजीवन पछिको पहिलो अन्तरवार्ता’ का लागि व्यग्र थिए । तर, भिडका कारण पललाई लिन गएको गाडी टर्मिनलभित्रै पठाइयो । गाडी भित्र लगिएको थाहापाएपछि भिड पनि गाडी निस्किने गेटमा जम्मा भयो । पलको गाडी भित्रबाट सुरक्षासहित आयो तर त्यहाँबाट निकाल्ने अवस्था नदेखिएपछि डीएसपीको निर्देशनमा गाडी डाइभर्ट गरियो ।
त्यसपछि भित्री बाटोबाट लगेर नेपाल एयरलाइन्सको भवन छेउबाट निकाल्न खोजियो । त्यहाँबाट निस्किन पनि नसकेपछि अन्तिममा प्रहरीका डिएसपीले आफ्नै गाडीमा राखेर पललाई लिएर हिँडेका छन् । पललाई प्रहरीले लगेपछि पलका समर्थकहरुले होहल्ला गरेका थिए । युट्यूबर र सञ्चारकर्मीहरु जिल्ल परे ।