२०८१ आश्विन ४ , शुक्रवार

विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको माओवादी केन्द्रसहित ८ दलले प्रतिवाद गर्ने

सुनाखरी न्युज/ काठमाडौं । विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने नेकपा (माओवादी केन्द्र)सहित आठ दलले निर्णय गरेका छन्।

 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको आठ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो। ‘शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र भावनाअनुरुप व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ’, बैठकपछि जारी संयुक्त विज्ञपितमा भनिएको छ, ‘शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्न हामी एकमत छौँ।’संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाइनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

 

 

संयुक्त वक्तव्यमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन्।

No photo description available.