२०८१ आश्विन ७ , सोमवार

बिएस राणाकी पत्नी र छोरीको उपचारमा चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाखसहयोग

सुनाखरी न्युज/ काठमाडौं । स्वर्गीय अभिनेता बिएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषले एक लाख रूपैयाँ प्रदान गरेको छ।

 

चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार उनीहरू रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो। उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सह-कोषाध्यक्ष पवित्रा आचार्यलगायत उपस्थित थिए।

 

सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरूरी रकम अझै नजुटेपछि इच्छा भएर पनि धेरै रकम सहयोग गर्न नसकेको बताए। गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौंको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको हो।