२०८१ मंसिर १० , सोमवार

नेप्सेमा सुधार,बढेन कारोबार रकम

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन आज सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.१७ अंकले बढेर एक हजार ९ सय ६ विन्दुमा पुगेको हो ।

आइतबार नेप्से २६.८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से बढेसंगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ । नेप्सेमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३०.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९७ रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शनको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आजै यस संस्थाको लाभांशमा राष्ट्र बैंकले कैची लगाएको सूचना सार्वजनिक भएको थियो ।

 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ५ करोड ९० लाख भन्दा बढीको कारोबार भएको छ ।