सुनाखरी न्युज/ काठमाडौँ । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भनाइ छ ।
यो प्रणाली सञ्चालनमा आएपछि बैङ्कमा जग्गा रोक्का राख्ने प्रणाली पनि अब अनलाइनबाटै हुने भएको छ । भूमि व्यवस्थापन विभागले यसअघि मेगा बैङ्कसँग यस्तो सम्झौता गरेकामा अब प्राइम बैङ्क, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैङ्क र अरू बैङ्क पनि यसमा आबद्ध हुँदै गएको मन्त्रालयका सचिवसहितका पदाधिकारीको सहभागितामा भर्चुअल प्रणालीबाट सञ्चालित कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी दुई चरणमा काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो ।