२०८१ मंसिर १४ , शुक्रवार

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

सुनाखरी न्युज/ काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ।

 

आज अपराह्न बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्‍मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सत्ता गठबन्धन दलका शीर्ष नेता सहभागी छन्।

 

साथै लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत पनि बैठकमा सहभागी छन्। बैठकमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते दोस्रो पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। तर अहिलेसम्म मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन।

 

सत्ता गठबन्धनमा कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्ने सहमति हुन सकेको छैन। नेकपा एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन्। प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिएका सबै दललाई समेटेर मन्त्रिपरिषद बिस्तार गर्न पटक-पटक छलफल गरे पनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको छैन। प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामध्ये राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने बताएको छ।