२०८१ मंसिर ५ , बुधवार

नेपाललाई थ्री नेसन्स कपको उपाधि

सुनाखरी न्युज/ काठमाडौँ । मनीष डाँगीको निर्णायक गोलको मद्दतले नेपालले शुक्रबार लाओसलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको छ । उनले खेल सकिन तीन मिनेट अगाडि गोल गरे । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला अञ्जन विष्टले सिर्जना गरेको अवसरमा मनीषले गोल गरेका हुन् । नेपालले १ गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।

 

नेपालले यसअघि सन् २०२१ मा बंगलादेश र कीर्गिस्तान यू–२३ टिम सम्मिलित थ्री नेसन्स कप जितेको थियो । यस जितसँगै नेपालले पाँच हजार डलर पनि हात पारेको छ । नेपाल पूरा प्रतियोतिगामा अपराजित रह्यो । यसअघि लिग चरणको खेलमा नेपालले लाओसलाई नै २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । दशरथ रंगशालामा भएको खेलमा लाओसले १७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि ‘डिफ्लेक्ट’ भएको बलमा साङभिलले गोल गरे । लाओसको अग्रता लामो समय भने टिकेन् । नेपाल २४ औं मिनेटमा गोल फर्काउन सफल रह्यो । एरिक विष्टको पासमा आयुष घलानले गोल गरे । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको लाओसले त्यसलाई दोस्रो हाफमा दोहाउन सकेन् । दोस्रो हाफ पूर्णतः नेपालको पक्षमा रह्यो । आयुषले ६१ औं मिनेटमा नजिकको दूरीबाट गरेको हेड पोस्टको केही माथिबाथि बाहिरिएको थियो ।

यस्तै खेलका ६८ औं मिनेटमा निशान खड्काले प्रहार गरेको फ्रि किक पोस्टमा लागेर फर्केको थियो । मनीषले ७५ औं मिनेटमा गरेको प्रहारले पोस्टको दिशा लिए पनि त्यो ‘अफ साइड’ मा रह्यो र त्यसले मान्यता पाएन् ।‘फिफा विन्डो’ मा नपरेको हुनाले यो खेलको औपचारिक अन्तर्राष्ट्रिय मान्यता भने हुने छैन ।