सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गर्नुभएको छ । वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न शनिवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।
सभापति लामिछानेले आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं क्षमतावान् मानिसहरु जोडिन आउन लागेको भन्दै पार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको बताए । उनले वाग्ले र खरेलजस्ता विज्ञहरु मन्त्री भएर सरकारको नेतृत्व गर्ने र मुलुकमा बिचौलिया र घुसखोरहरुको अन्त्य हुने दाबी समेत गरे । वाग्ले र खरेलजस्ता विज्ञहरु आफ्नो पार्टीमा आउनुले सिंगो देशका लागि उज्यालोको संकेत भएको लामिछानेको जिकिर छ । उनले भने, ‘आजको यो कार्यक्रम आउँदै गरेको त्यो हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको जनाउ घण्टी मात्रै हो । सम्पूर्ण होइन । त्यसकारणले यो जानकारी गर्नका लागि पनि हामी यहाँ उपस्थित भएका हौं ।’
उनले वाग्ले र खरेललाई धन्यवाद दिँदै थप भने, ‘पार्टीलाई विश्वास गरेर, यो अभियानलाई विश्वास गरेर आफूले आर्जन गरेको आफ्नो नाम, आफ्नो प्रतिष्ठालाई हामीसँगै जोडिएर अगाडि बढने जुन साहस, हिम्मत र साथ दिनुभयो । म दुवै जना साथीहरुलाई धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु । तपाईहरुको आगमनले एउटा केवल राजनीतिक दलमा तपाईहरु दुई जना आउनु भएको मात्रै होइन । एउटा हुर्कदै गरेको पुस्तालाई तपाईहरुले कति भरोसा दिनु भएको छ । यो अध्यारो ठाउँमा, यो अन्धकार भएको ठाउँमा, समाज जहाँ निराशाको एउटा ठूलो बादल छाएको छ । यस्तो निराशाको बादल छाएको ठाउँमा तपाईहरुले एउटा आशाको किरण बालिदिनुभएको छ ।’
आफ्नो पार्टीले भविष्यमा बहुमतको सरकार बनाउने दाबी गर्दै उनले आउँदो पुस्ताले केही गर्ने आशा देखिएको बताए । ‘म त्यो दिनको परिकल्पना गरिरहेको छु–जतिखेर हामीले बहुमतको सरकार, दुई तिहाईको सरकार बनाउनेछौं,’ लामिछानेले भने, ‘जहाँ हाम्रा सांसदहरु, नीति निर्माणमा संसदभरी रहनेछन् । र, हामीले संचालन गरेको सरकार, हाम्रो नेतृत्वको सरकारमा तपाईहरुजस्तो विज्ञहरुले मन्त्रालयहरु हाँक्नु हुनेछ । जहाँ विचौलिया, घुसखोरहरुको अन्त्य हुनेछ । यो देशले राम्रा नीतिहरु बनाउनेछ । र, आउँदै गरेका हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गर्नेछ ।’