२०८१ माघ ३ , बिहिवार

सन्दीपविरुद्धको बलात्कार मुद्दाको फैसला पेशी केशव घिमिरेको इजलासमा

सुनाखरी न्युज / काठमाडौं  – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । अन्तिम सुनुवाइ सकिएसँगै उक्त मुद्दामा फैसला हुनेछ ।यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

 

चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो । त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

 

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।