२०८१ पुष २० , शनिवार

विश्वका १० धनाढ्य को को हुन् , कसको सम्पति कति छ ? पुरा विवरण जान्नुहोस्

सुनाखरी न्युज –

फोब्र्सले यस वर्ष दुई हजार ६४० अर्बपतिलाई आफ्नो सूचीमा राखेको छ, जुन् गत वर्षभन्दा २८ जनाले कम हो । यो संख्या सन् २०२१ भन्दा ११५ ले कम हो । तर पनि यो सूचीमा १५० जना नयाँ अर्बपति थपिएका छन् । नयाँ थपिएका यी १५० अर्बपतिको कूल सम्पत्ति ३४४ अर्ब अमेरिकी डलर रहेको छ । नयाँ थपिनेमा एक अर्ब कमाएका संगीतकार जिम्मी बफेट, टोम फोर्ड, टाइगर वुड्स र लेब्रोन जेम्सलगायत रहेका छन् ।सूचीबाट बाहिरिने अर्बपतिको संख्या झनै बढी छ । यस वर्ष २५४ जना अर्बपतिको सूचीबाट बाहिरिएका फोब्र्सले जनाएको छ ।

 

फोब्र्सको २०२३ को अर्बपति सूचीबाट बाहिरिनेमध्येका केही व्यक्तिहरुमा अमेरिकी र्यापर कान्ये वेस्ट, साम बैंकम्यान फ्राइड, बाहिरी पोशाक निर्माता प्याटागोनियाका संस्थापक इभोन चौइनर्ड, प्रयोग गरिएका कार बेच्ने कम्पनी कारभानाका संस्थापक अर्नेस्ट गार्सिया तृतीयलगायत रहेका छन् ।सबैभन्दा बढी कमाउने धेरै व्यक्तिहरु अर्बपतिको सूचीबाट बाहिरिए पनि सन् २०२२ को एक हजारभन्दा बढी अर्बपतिले आफ्नो सम्पत्ति झनै बढाएका छन् । अर्थात, उनीहरु झन् बढी धनी भएका छन् । लक्जरी सामान टाइकन बर्नार्ड अर्नाल्टको सम्पत्ति गत वर्षभन्दा ५३ अर्बले बढेको छ जुन, सबैभन्दा बढी आम्दानी हो । यस्तै, सिंगापुरको कोइला र नवीकरणीय ऊर्जा मुगल लो टक क्वाङले २१।८ अर्ब बढी कमाएका छन् ।

 

विश्वका १० धनाढ्य

समग्रमा फोब्र्सको सूचीमा रहेका दुई हजार ६४० अर्बपतिमध्ये पहिलो नम्बरमा २११ अर्ब अमेरिकी डलरको सम्पत्तिसहित बर्नार्ड अर्नाल्ट रहेका छन् । दोस्रो नम्बरमा एलन मस्कको सम्पत्ति १८० अर्ब अमेरिकी डलर छ । तेस्रोमा ११४ अर्बसहित जेफ बेजोस, चौथोमा १०७ अर्बसहित ल्यारी एलिसन र पाँचौँमा १०६ अर्बसहित वारेन बफेट रहेका छन् ।

१०४ अर्बसहित छैटौँमा बिल गेट्स, ९४।५ अर्बसहित सातौँमा माइकल ब्लूमबर्ग, ९३ अर्बसहित आठौंमा कार्लोस स्लिम हेलु र परिवार, ८३।४ अर्बसहित नवौँमा मुकेश अम्बानी र ८०।७ अर्बसहित स्टिव बाल्मर दशौँ नम्बरमा रहेका छन् । फोब्र्सले सन् २०२३ को मार्च १० को सेयर मूल्य र विनिमयदर प्रयोग गरी यी अर्बपतिको सूची तयार पारेको हो ।