२०८१ पुष २० , शनिवार

अफगानिस्तानमा सुरक्षा गर्ने नेपाली गार्डलाई बेलायतले देश निकाला गर्ने निर्णय रोकियो

सुनाखरी न्युज / काठमाण्डौ – अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीलाई बेलायतबाट स्वदेश फिर्ता पठाउने योजना तत्काललाई रोकिएको छ । तालिवानले काबुल कब्जा गरेपछि उद्धार गरेर बेलायत पुर्‍याइएका सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीहरूलाई नियन्त्रणमा लिएर देश निकाला गर्ने प्रक्रिया अघि बढाएको बेलायतले तत्काल त्यसो नगर्ने बताएको बिबिसीले खबर लेखेको छ ।

 

अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासको सुरक्षामा खटिएका ११ जना नेपाली र २ जना भारतीयलाई तालिवानले अफगानिस्तान कब्जामा लिएपछि सन् २०२१ को अगस्टमा उद्धार गरेर बेलायत लगिएको थियो । बेलायतमा लगेर उनीहरुलाई एउटा होटलमा राखिएको र त्यही होटलमा आफूहरूले काम गर्दै आएको एक नेपालीले बताएका छन् । उनीहरूले बेलायतमा स्थायी रूपमा बसोबास गर्नका लागि आवेदन दिएको भए पनि बेलायतले उनीहरूलाई देश निकाला गरेर स्वदेश पठाउने बताएको थियो र त्यसका लागि आवश्यक कागजपत्र समेत तयार भइसकेको बिबिसीले उल्लेख गरेको छ ।

 

होटलमा बसेर काम गर्दै आएका केहीलाई छापा मारेर पक्राउ समेत गरिएको थियो । तर बिबिसीका अनुसार बेलायतको गृह मन्त्रालयले उनीहरूलाई बेलायतबाट स्वदेश पठाउने तयारी अहिलेलाई रोकिएको जानकारी दिएको छ ।