२०८१ मंसिर ५ , बुधवार

सत्य निरुपण तथा मेलमिलाप विधेयकबारे शीर्ष दलका नेता र सभामुखबीच छलफल

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

 

बैठकमा संसद सञ्चालन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको हो । तर सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्गबाट पारित गर्ने विषयमा भने शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा सहमति जुट्न नसकेको हो ।

 

सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको थियो । प्रमुख विपक्षी दलका नेता ओलीले टिआरसीलाई पहिले संसदीय समितिमा लैजानुपर्ने अडान राख्नुभएको थियो । बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले विधेयक छिटो टुंग्याउन जरुरी भएको र सहमति जुटाउने भन्ने कुरामा सैद्धान्तिक रूपमा सहमत भएको बताउनुभयो । उहाँले यस विषयमा थप छलफल गरेर टुंगोमा पुर्‍याउन चैत २८ गते फेरि छलफल हुने जानकारी दिनुभयो ।

 

एमाले अध्यक्ष ओलीले सदनका काम कारबाहीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नै बैठकमा छलफल भएको बताउनुभयो । उहाँले यो प्रारम्भिक छलफल भएको र टिआरसीको विषयलाई समितिमार्फत लैजानुपर्ने बताउनुभयो ।