२०८१ पुष २९ , सोमवार

बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न तयार छौ : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रिजाल

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय बिज्ञापन संघ “नान”को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् ।

 

बिज्ञापन क्षेत्रलाई अन्य उद्योग जस्तै बिस्तार गर्दै लैजाने प्रस्तावमा आफु सधै सकारात्क रहेको भन्दै आफु र आफ्नो मन्त्रालय यो क्षेत्र बिस्तारकालागि सधै सम्पर्क र सम्वादमा रहने बताएका हुन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग व्यवसायको व्यावसायिक हितकालागि सरकार सधै तैयार रहेको बताएका छन् । बर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशा तिर उन्मुख भएको भन्दै मन्त्री रिजालले बिज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई सरकार संग सहकार्य गरी अगाडि बढन् आव्हान समेत गरे ।

 

कार्यक्रमलाई सम्वोधन गर्दै बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले खस्कदो बिज्ञापन क्षेत्रलाई बढाउन बिज्ञापन बोर्ड सधै सजग रहेको बताएका छन् । बोर्डले बिज्ञापन सम्वन्धी एैन, नीति तथा योजनालाई थप व्यावस्थित गर्ने योजना अन्तिम चरणमा पुर्याएको र त्यो छिट्टै कार्यान्वयनमा आउने अध्यक्ष हुमागाईले जानकारी दिए । अन्तिम चरणमा रहेको बोर्डको यो योजना आए बिज्ञापन व्यावसाय मात्र नभई यो क्षेत्र नै व्यवस्थित र मर्यादित हुनेपनि हुमागाईले बताए । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बिगतका बर्ष देखि नेपाली बिज्ञापन एजेन्सीले सामुदायिक रेडियोलाई गर्दै आएको सहयोगको प्रसंसा गरे । खस्कदो बिज्ञापन बजारको अवस्था प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष गिरीले सरकारले पनि यो क्षेत्रलाई बढाउने किसिमका कार्यक्रम ल्याई संचार माध्यमलाई बाँच्ने आधार तयार गरिदिन सरकार संग अनुरोध गरे ।

 

कार्यक्रममा बिज्ञापन व्यावसायी नविन राज पौडेल, बानका उपाध्यक्ष राजकुमार थापा, बिज्ञापन बोर्डका सदस्य पवन अधिकारी, चेम्बरअफकमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले साधारणसभाको सफलताको शुभकामना दिएका थिए । संघका महासचिव आशिष खड्काले उद्घोषण गरेको कार्यक्रमा अतिथिलाई द्वितिय उपाध्यक्ष अमृत कुमार पन्थीले स्वागत गरेका थिए, भने सचिव बिमल खड्काले धन्यबाद ज्ञापन गरेका थिए । राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आज काठमाडौमा सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो ।

 

मल्ल होटलमा बसेको साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्धितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी संघको सदस्यहरुमा बसन्त योगी, रवी अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल आहुजी र सविन पोख्रेल छन् । निर्वाचित भए लगत्तै बसेको कार्य समितिको पहिलो बैठकले विज्ञापन क्षेत्रलाई समय सापेक्ष बनाउन विधान संशोधन गर्ने लगायतका तीनबुँदे निर्णयहरु पारित गरेको छ ।