सुनाखरी न्युज/ काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् ।
संघीय संसदका दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकोमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने खाँणको भनाइ छ ।
आज (आईतबार) नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले सो विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरुको पनि ध्यानाकर्षण गराए । संविधानअनुसार संघीय संसदका दुवै सदनले पास गरी दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ ।
‘अनागरिकलाई पनि नागरिकता दिने गरी राष्ट्रपति समक्ष पठाइएको नागरिकता सम्बन्धि विधेयक स्विकृत गर्नका लागि, प्रमाणीकरण गर्नका लागि म यो जनकपुरको नेपाली काँग्रेसको प्रदेश कार्यालयबाट सम्पूर्ण राजनीतिक पार्टीहरुलाई आग्रह गर्दछु– त्यो वातावरण गराउनुहोस्,’ उनले भने, ‘सरकारले, राजनीतिक दलहरुले सम्माननीय राष्ट्रपतिसँग आग्रह गरेर त्यो नागरिकता विधेयकलाई प्रमाणिकरण गरियोस् । र, ती नेपाली नागरिक, जसले नागरिकता प्राप्त गर्न सकेका छैनन् कानुनको अभावमा । उनीहरुलाई नागरिकता दिने काममा थालनी होस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
नेता खाँणले संविधानको प्रावधानअनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाई गर्नुपर्ने कुनै कारण नरहेको बताए । उनले बैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहु क्षेत्र नम्बर १ को उपचुनाव सकिएलगत्तै सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारुढ दलहरुले प्रदेश सरकार पुनर्गठन गर्ने पनि स्पष्ट पारे ।