२०८१ पुष १८ , बिहिवार

चञ्चलकलीले काटिएको सुँडबाटै खाई डेढ सय लिटर पानी

सुनाखरी न्युज/ काठमाडौं । अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले आइतबार साँझ सुँडबाटै करिब डेढ सय लिटर पानी खाएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।

 

मंगलबार राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनदेखि आफैं खान सकेको थिएन। शनिबार दिउँसो बल्ल सुँडमा पानी भरेर मुखमा पुर्‍याउने प्रयास गरेको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालका अनुसार हात्तीले आइतबार साँझ आफैंले सुँडबाट पानी खाएको छ। एक सुँडमा ७–१० लिटर पानी अट्छ। पानी भरिएपछि हात्तीले सुँडको अघिल्लो भागलाई मुखभित्र जिब्रोको पछाडि पुर्‍याएर निल्छ।

 

‘मुखबाट पानी खान नपाउँदा धेरै तिर्खाएको थियो। शनिबारबाटै प्रयास गरे पनि धेरै खान सकेको थिएन। आइतबार साँझ लगातार ३२ सुँड पानी खायो। डेढ सय लिटरभन्दा बढी पानी एकै पटक खाएको हो,’ रिजालले भने। मंगलबार राति सुँड काटिएपछि चञ्चलकलीको रेक्टल विधि (मलद्वारबाट पाइप छिराएर पानी शरीरमा पानी पुर्‍याउने) बाट शरीरमा पानी पुर्‍याइएको थियो। हात्तीले पानी खान नसकेको अवस्थामा शरीरलाई आवश्यक पर्ने पानीको मात्रा रेक्टल विधिबाट पुर्‍याइन्छ। हात्तीको सुँड कसले किन काट्यो भन्ने थाहा हुन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्ज र चितवन प्रहरीले यसको अनुसन्धान गरिरहेका छन्।