२०८१ माघ २ , बुधवार

बैंकको ऋण तिर्दैनौं भन्ने माग सरकारलाई मान्य नहुने : अर्थमन्त्री महत

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य नहुने स्पष्ट पारेका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले भने ‘म यो मञ्चबाट भन्न चाहन्छु कि कर्जा नै तिर्दैनौं भन्ने विषय हुन सक्दैन । अहिले अप्ठेरो पर्‍यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो, समय चाहियो त्यो हुन सक्ला । तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ । ब्याजदरका विषय वा मौद्रिक नीतिमा टाइट गरिएका अन्य विषयलाई खुकुलो बनाउने सन्दर्भमा सरकारले राष्ट्र बैंकसँग परामर्श गरिरहेको उनले बताए ।

 

चाँडै नै लगानीका समस्या हल गरेर अर्थतन्त्र चलायमान गराउने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ छ । ‘ऋण लिएकाले सहज रुपमा फिर्ता गर्न सक्ने वातावरण बनाउनु हाम्रो कोसिस हुन्छ’ महतले भने ‘घरजग्गामा देखिएको मन्दी, निर्माण क्षेत्रमा देखिएको मन्दी कम गरेर समग्र अर्थतन्त्र चलायमान अर्थतन्त्र बनाउनका लागि केन्द्रित हुनेछौं ।