२०८१ मंसिर ५ , बुधवार

विमान चार्टर गरेरै आए चिनियाँ पर्यटक, काठमाडौँमा पञ्चेबाजाले स्वागत

सुनाखरी न्युज/ काठमाडौं । चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।

 

चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । उनीहरुको करिव ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । १८१ चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए ।

 

कोरोना महामारीको कारण लामो समयसम्म चिनिया पर्यटक आउन पाएका थिएनन् । अब नेपालमा समूहमै घुम्न पाउनु नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको मन्त्री किरातीले बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि बताए । ‘कोरोना महामारीपछि समूहमा घुम्नसक्ने गन्तव्यको रुपमा खुला गरेको छ । समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नु नेपाल र चीनबीचको सम्बन्ध बढ्छ,’ उनले भने, ‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि चिनको योगदानको प्रारम्भ भएको छ । सबैभन्दा बढी यो समूहमा आउने भन्ने छ । अहिले १८१ जना आउनुभएको छ । अब ढोका खुल्यो ।’

 

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका रहेको बताए । उनले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति दिएपछिको नेपाल भ्रमणमा पहिलो १८१ चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताए । पहिलो समूहमा १८१ जना आएको र अब लगातार रुपमा ७ सय चिनियाँ पर्यटक आउने दबी गर्दै उनले २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएको बताए । चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भने पनि कोरोनाका कारण सफल हुन नसकेको उनको भनाइ छ ।

 

‘विगत २०१९ मा १ लाख ६५ हजार जति नेपालमा चिनियाँ पर्यटक आउने गरेका थिए । कोरोना महामारीको कारण अन्य मुलुकमा खुला भएपनि चीनमा विदेश भ्रमणमा रोक थियो । शुरुमा चीनले विदेश भ्रमण खोल्दा समूहमा घुम्ने देशको सूचीमा नेपाल थिएन,’ उनले भने, ‘पर्यटन मन्त्रीले चिनियाँ राजदुतलाई खोल्न आग्रह गर्नुभएको थियो । आग्रहअनुसार खुला गरिएको छ । चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चिनबाट ५ लाख पर्यटक पठाउने भन्नुभएको थियो तर कोरोनाका कारण सफल हुन सकेन । यो वर्ष २०१९को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने छौं । चिनियाँ पर्यटकले नेपाली नयाँ वर्षमा नेपालीहरुसँग मनाउनु हुनेछ । उहाँहरुले नेपालको सकारात्मक सन्देश लिएर चिन जानु हुनेछ । अन्य चिनियाँ पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्नुहुने आशा लिएका छौं । पर्यटकहरुको नेपाल बसाई एक हप्ता हुनेछ ।’

 

त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एयरलाइन्सको विमान चार्टर उडानमार्फत लगातार आउने तालिका रहेको बताए । उनले अप्रिल १९ तारिखमा अर्को उडानमार्फत आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिको बताए ।

 

चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाईमा ३ दिन ट्रेकिङ जाने र ४ दिन काठमाडौं–पोखरा घुम्ने उनको भनाइ छ । साथै नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ उर्जा थपिएको छ । कोरोना महामारी पश्चात पहिलोपटक चीन सरकारले गत मार्च १० बाट नेपाललाई गन्तव्यका सूचिमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात चार्टर उडानमार्फत नेपाल आउने पहिलो समूह नेपाल बिग माउन्टेन ट्राभलले काठमाडौँ भित्र्याएको हो ।