२०८१ मंसिर १० , सोमवार

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

सुनाखरी न्युज/काठमाडौं । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ ।

 

इलाइट एक्सपिडिसन मार्फत उहाँले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गर्नुभएको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । “विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ”, उहाँले भन्नुभयो, “आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ ।”

 

टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णलाई सफलतापूर्वक आरोहण गर्नुभएको छ । राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गर्नुभएको थियो । पेसाले चिकित्सक रहेकी थानी कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि २०७९ फागुन २२ गते थानी म्याग्दीमा आउनुभएको थियो । कतारको राजपरिवारको सदस्यबाट भएको अन्नपूर्ण हिमाल आरोहणले यस क्षेत्रको पर्यटन प्रर्वद्धन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

 

अन्नपूर्ण प्रथम हिमालमा शनिबार बिहानदेखि चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको हो । सेभेट समिट ट्रेकका पासाङनुर्वु शेर्पाको नेतृत्वमा तीन नेपाली, एक पाकिस्तानी र एक जना अष्ट्रेलियन पर्वतारोहीले पनि शनिबार अन्नपूर्ण आरोहण गर्नुभएको थियो । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।