२०८१ पुष ११ , बिहिवार

काठमाडौंको वायु प्रदूषण केही दिन कायम रहने, तत्काल ठूलो पानी पर्ने संभावना छैनः मौसमविद

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन कायम रहने अनुमान मौसमविदले  गरेका छन् । अहिले देशभर नै वायु प्रदूषण बढेको छ । काठमाडौं उपत्यकामा त आँखा पोल्ने प्रदूषण छ । आईक्यू एअरले आज काठमाडौंलाई विश्वकै सबैभन्दा बढी पदूषित शहरको सूचीमा राखेको छ ।

मौसमविदका अनुसार वायु प्रदूषण हट्न ठूलो पानी पर्नुपर्छ वा बेस्सरी हावा चल्नुपर्छ । तर त्यसो नहुँदा कचौरा आकारमा रहेको काठमाडौं उपत्यकामा वायु प्रदूषण कायम छ ।

 

वर्षाका गतिविधि कम र डढेलोका घटना बढी भएकाले वायु प्रदूषणमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद सजिना शाक्यले काठमाडौं उपत्यकामा केही दिन पानी पर्ने सम्भावना नभएको बताइन् ।

खासगरी चैत महिनामा आगलागी र डढेलोका घटना बढी हुने भएकाले वायुप्रदूषण पनि बढ्छ । वन विभागका अनुसार अहिले देशभर २८ स्थानमा डढेलो लागेको छ । वैशाख १ गतेसम्म झण्डै एक सय स्थानमा डढेलो लागेको थियो ।