सुनाखरी न्युज/काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका सेवा लिनुअघि शर्त तथा शुल्कका बारेमा प्रष्ट जानकारी लिन राष्ट्र बैंकले आग्रह गरेको छ । वित्तीय चेतनाका लागि जानकारी मूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय सेवा शुल्कका सम्बन्धमा जानकारी नपाइए सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारी समक्ष उजुरी दर्ता गर्न आग्रह गरेको छ ।
सम्बन्धित अधिकारीबाट पनि जानकारी नपाइए सिधै राष्ट्र बैंक समक्ष उजुरी गर्न आग्रह गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण शर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरू दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन राष्ट्र बैंकले भनेको छ । कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा नलिन राष्ट्र बैंकले आग्रह गरेको छ ।
‘बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी शर्त, शुल्क, हर्जाना, जरिवाना, कमिसन आदिका बारेमा सरल एवम् स्पष्ट भाषामा निःशुल्क रूपमा जानकारी उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘ग्राहकलाई सम्पूर्ण विषय सरल भाषामा बुझाएर मात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंक तथा वित्तीय संस्थाको दायित्व हो ।’