२०८१ माघ २ , बुधवार

वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउने नबिल बैंक

सुनाखरी न्युज/काठमाडौँ । २१ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ।

 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नबिल बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशत बढी हो, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो। रकमका आधारमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने एनआईसी एशिया तेस्रो स्थानमा रहेको छ। ग्लोबलले चैत मसान्तसम्ममा ४ अर्ब ३५ करोड नाफा कमाएको छ भने एनआईसी एशियाको नाफा पनि ४ अर्बभन्दा बढी छ।

 

हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा भने कृषि विकास बैंकको रहेको छ। सो बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशत कम हो।