२०८१ मंसिर १५ , शनिवार

काठमाडौंमा इदको रौनक

सुनाखरी न्युज/ काठमाडौं ।
इस्लाम धर्मावलम्बी मुसलमानले शनिबार इद (इद उल फित्र) मनाएका छन् ।  काठमाडौंस्थित कश्मीरी तकिया, नेपाली जामे मस्जिदसहित देशभरका मस्जिदमा बिहान इदको  नमाज पढेपछि शुभकामना आदान-प्रदान गर्दै मुसलमानहरूले खुसियाली मनाएका छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ ।

 

इद खुसी साट्ने पर्व हो र तीन दिनसम्म मनाइन्छ । एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने, दान गर्ने प्रचलन छ । यो भाइचारा साट्ने दिन पनि हो । मस्जिद वा इदगाह (इदको नमाज पढ्न बनाइएको खुला ठाउँ) मा भेला भएर इदको नमाज पढ्ने चलन छ ।

 

इदको नमाजपछि एकापसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदान प्रदान गरिन्छ । बिहानै नुहाइ धुवाइ, सफा र राम्रा कपडा र अत्तर (बास्नादार चिज) लगाएर सेबई, फलफूल वा अन्य मिठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जान्छन् । इदको नमाज पढ्नुअघि हरेक व्यक्तिले आफ्ना परिवारका तर्फबाट ‘सद्काए फित्रा’स्वरूप रकम तिर्नुपर्ने हुन्छ । त्यो रकम अलग्गै जम्मा गरिन्छ । यस्तो रकम गरिब, असहाय, विपन्न, मिस्किनले मात्रै प्रयोग गर्न सक्छन् ।