२०८१ पुष २९ , सोमवार

के पाइन्छ सिन्की-गुन्द्रुकमा ?

सुनाखरी न्युज/ काठमाडौं । सिन्की र गुन्द्रुक पौष्टिक तत्व भिटामिनले भरिपूर्ण खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट ।

 

उहिले हाम्रा पूर्खाहरुले आफ्नो छाक टार्नका लागि हो वा स्वाद फेर्नका लागि, सिन्की-गुन्द्रुक बनाउने गज्जबको तरिका जाने । लामो समय भण्डारण गरेर खान उपयोगी र पौष्टिक तत्वले भरिपूर्ण छ । त्यसैले त सिन्की-गुन्द्रक आज पनि धेरैको लागि प्रिय खानेकुरा बनेको छ । सिन्की-गुन्द्रुकमा भिटामिन बी, सी र के पाइन्छ । यी भिटामिनले शरीरभित्र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा आइरन र जिंक पर्याप्त मात्रामा हुन्छ । यसमा तुलनात्मक रुपमा हरियो सागपात तथा ताजा मूलामा भन्दा बढी पोषण तत्व पाइन्छ ।

 

सिन्की र गुन्द्रुकले खानमा रुचि बढाउने, रोग प्रतिरोधात्क क्षमता बढाउने, पाचनशक्ति बलियो बनाउने काम गर्छ । पाचनशक्ति बलियो हुने भएकाले पेटसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ । त्यस्तै चिसोबाट लाग्ने रुघाखोकी, ज्वरो र झाडापाखालाबाट पनि जोगाउँछ । यसले शरीरमा जम्मा भएका विषादी चीज (टक्सिक फ्याक्टर) निकाल्न पनि मद्दत गर्छ । स्तनपान गराइरहेकी आमा (सुत्केरी महिला)ले गुन्द्रुक खाएमा दूध बढ्छ, जसले बच्चालाई दूध पर्याप्त मात्रामा पुग्छ र बच्चा स्वस्थ रहन्छ ।