२०८१ माघ २ , बुधवार

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब रुपैयाँको आउने

सुनाखरी न्युज/ काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब रुपैयाँ बराबरको मात्र आउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा बजेट सम्बन्धी ब्रिफिङ गर्दै यस्तो जानकारी गराएका हुन् ।

 

सरकारको स्रोत खुम्चिएको अवस्थामा खर्चको दायरा समेत घटाउनुपर्ने बाध्यताकाबीच आगामी आर्थिक वर्षको बजेट १६ खर्बको सीमा झार्न लागिएको डा.महतको भनाइ छ । उसो त आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको निश्चित सीमाभित्र रहेर बजेट ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन गरिसकेको छ । यो चालू आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

 

तर, आर्थिक वर्षको ९ महिना वितिसक्दा समेत सरकारले मुस्किलले ५३ प्रतिशत बजेट खर्च गर्न सकेको छ भने यता राजस्व ५० प्रतिशत उठ्न सकेको छ । खर्चको स्रोत घटेसँगै सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना फुटकर आयोजनाहरुको खर्च कटौती गर्ने नीति लिने अर्थमन्त्री डा.महतको भनाइ छ । प्राथमिकतामा रहेका र बहुवर्षीय ठूला आयोजनाहरुलाई निरन्तरता दिएर स्रोत अपुग आयोजनाहरुलाई स्थगित गरिने समेत अर्थमन्त्री डा.महतले बताएका छन् ।