२०८१ आश्विन ७ , सोमवार

को बन्ला हिमालय लोकस्टार ?

सुनाखरी न्युज/ काठमाडौं । आगामी बुधबार हिमालय लोकस्टारले विजेता प्राप्त गर्नेछ । ६ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । जसमा बलराम विश्वकर्मा, सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्ती मगर र पीएन साइँला छन् ।

 

बुधबार बेलुका साढे ५ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ग्राण्ड फिनाले आयोजना हुँदैछ, जहाँ कृष्ण कँडेलसहित टेलिभिजन कार्यक्रम इन्द्रेणीको समूहले पनि सांगीतिक प्रस्तुति दिने जनाइएको छ । ग्राण्ड फिनाले लाइभ कन्सर्ट-२०८० नाम दिइएको यो कार्यक्रममा सहभागी हुन दर्शकले टिकट काट्नुपर्ने छ । लोकस्टारमा महाजजको रुपमा कुमार बस्नेत छन् भने राजु परियार, रामजी खाँड र कुलेन्द्र विश्वकर्मा जजको रुपमा छन् ।

 

सबै जजले फिनालेमा सांगीतिक प्रस्तुति दिने जनाइएको छ । लोकस्टारमा आफूलाई मनपर्ने प्रतियोगीलाई जिताउन दर्शकले भोट पनि गर्न सक्नेछन् । हिमालय लोकस्टार प्रत्येक मंगलबार र बुधबार राति ८ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।