२०८१ आश्विन ७ , सोमवार

सेन्सरमा पास भएन चलचित्र काँडेतार

सुनाखरी न्युज /काठमाडौंँ – नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्म सेन्सर फेल भएको छ । सोमबार भएको फिल्मको सेन्सरमा सेन्सर बोर्डका सदस्यहरुले फिल्मका सम्बाद र दृश्य केही काँटछाट गर्नुपर्ने भन्दै सेन्सर फेल गरेको निर्देशक नवल खड्काले बताए ।फिल्म नेपाल –  भारत सीमामा हुने गतिविधिलाई लिएर केन्द्रीत छ। जसकारण केही त्रुटि भएका दृश्यहरु हटाउन समितिले फिल्म निर्माण पक्षलाई भनेको छ।

 

केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्ममा केही त्रुटि भएकै कारण सेन्सर पास नगरेको बताए। उनले भने,‘हामीले उहाँहरुलाई फिल्ममा भएका मिसटेकलाई सुधार गरेर ल्याउनु भनेका छौं। उहाँहरुले फिल्ममा करेक्सन गरेपछि सेन्सर पास हुन्छ। किनकी फिल्ममा दुई देशको कुरा छ।’उनले फिल्ममा एक दृश्य लगाइएको साइनबोर्ड हटाउन मात्र भनेको जानकारी दिए । फिल्मबाट त्यो हट्यो भने प्रदर्शनमा कुनै कठिनाई नहुने उनको भनाई छ । सामना फिल्मस् प्रालिको निर्माण रहेको फिल्मले खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचार विरुद्ध नेपाली जनताको प्रतिरोध लगायतको बिषय कथावस्तुका रुपमा उठाएको छ । नवलको कथावस्तुका कारण सबै फिल्म लफडामा पर्ने गरेको छ ।

 

माकिको राई र अन्जु केसी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । फिल्मको सहनिर्मातामा रोमियन लिम्बू, विमला कट्टेल, डा।अमित विश्वास, राजेन्द्र भगत, पन्नालाल सिक्दार, दिनेशकुमार राय, नादिया खड्का र सनया खड्का रहेका छन् । श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन रहेको फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, बन्देप्रसाद र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

 

फिल्ममा नवल खडका, गौरव पहारी, सुरविना कार्की ,रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायामाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम बिश्वास र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ ।