सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाले साविक पुरानो बसपार्कबाट टुँडिखेलतर्फ लाग्दा सडक किनारामा रहेको ट्राफिक प्रहरी पोष्ट भत्काएको छ । पैदल यात्रुको सहज आवागमनमा वाधा गरेकोले प्रहरीसँगको समन्वयमा पोष्ट हटाइएको हो ।
‘कानुन सबैका लागि बराबर हुन्छ । सडक पेटीमा भौतिक संरचना बनाउन नपाइने नियम सबैका लागि हो । यहाँ कसैले बनाउन पाउने र कसैले नपाउने भन्ने हुँदैन ।’ सडकपेटी अतिक्रमण हटाउने अभियानका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘कानुन पालना गराउनु पर्ने निकायबाट सडक पेटी अतिक्रमण हुनु गलत हो । हामीले सडक पेटीलाई पैदल यात्रीमैत्री बनाउन सडक व्यापारलाई रोकेका हौँ । यो नियम सर्वसाधारणका लागि मात्र होइन । सबैले पालना गर्नुपर्छ ।’
गएको माघ २४ गते महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी बिट हटाइसकेको छ । नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सडक किनारामा २२ वटा प्रहरी बिट छन् । यी विट हटाएर सहज पैदल यात्राका लागि नेपाल प्रहरीलाई अनुरोध गरिएको छ ।