२०८१ मंसिर १३ , बिहिवार

बलात्कार मुद्दामा ३ वर्ष जेल बसेपछि बालविवाहको फैसला

सुनाखरी न्युज /  काठमाडौं –  किशोरी वालिङ बहुमुखी क्याम्पस ११ कक्षामा पढ्थिन । क्षेत्री समुदायकी ती किशोरीको दलित समुदायका केटासँग प्रेम सम्बन्ध भयो । सामाजिक सञ्जालमार्फत कुरा हुँदै जाँदा दुवैबीच प्रेम सम्बन्ध भयो । दुवैजनाले घरबाट सहजै बिहे गर्न नदिने भएपछि भाग्ने निर्णय गरे । २०७६ असोजमा केटी पोखरा घुम्ने निहुँमा आइन् । त्यहाँ उनीहरूले विवाह गरेर आफन्तको घरमा बसे ।परिवारलाई नसोधी विवाह गरेको आक्रोश एकातिर थियो भने अन्तरजातीय विवाह गरेको रिसले केटी पक्षका आफन्त चुर भए ।

 

उनीहरू भागेकै साता जिल्ला प्रहरी कार्यालय स्याङ्जा किशोर विपीन सुनारविरुद्ध किशोरीकी काकीले जबरजस्ती करणीको उजुरी दिइन् । विपिनविरुद्ध २०७८ कात्तिकमा १२ वर्ष कैद सजाएँ सुनायो । न्यायाधीश वसन्तराज पौडेलको इजलासले सुनाएको फैसलाका कारण विपिन कारागार चलान भए । फैसलाका समयमा किशोरी १४ वर्ष ९ महिना पुगेकी थिइन । विवाहपछि भने केटी केटाकै घरमै बसेर जीवनयापन गर्दै आएकी थिइन् । विवाहको अर्को वर्ष उनले छोरी जन्माइन् ।

 

विपिनले बलात्कार नभई विवाह गरेको भन्दै जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा उजुरी पठाए । अदालतले गरेको बकपत्रमा किशोरीले पनि आफू बलात्कृत नभई राजीखुसी विवाह गरेको स्वीकार गरिन् । उनले २०७६ असोज ९ मा दुवै पक्षबीच विवाह गर्ने सल्लाह भई पोखरा आएर आफन्तको बसेको बताएकी थिइन् ।बालविवाहको कसुरमा केटालाई १५ हजार जरिवाना, ३ सय रुपैयाँ पीडित राहत कोष र डेढ वर्ष सजाय सुनाएको हो । ३ वर्ष जेल बसिसकेका विपीनको १५ हजार मिनाहासमेत भएको छ ।