२०८१ मंसिर १५ , शनिवार

सरकारले थाल्यो महावीर पुनसँग वार्ता

सुनाखरी न्युज/ काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले वार्ता थालेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पुनसँग सरकारले वार्ता गरिरहेको हो ।

 

आइतबार रक्षा मन्त्रालयमा जारी वार्तामा मुख्य सचिव शंकरदास वैरागी पनि सहभागी रहेका छन् । उपप्रधानमन्त्री खड्काको सचिवालयका अनुसार पुनको तर्फबाट पनि केही व्यक्तिहरूको सहभागिता रहेको छ । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना सुरु गरेका थिए ।

 

पुनले सरकारले आफ्ना माग पूरा नगरेसम्म सडकमै सुतेर धर्ना धर्ना दिने घोषणा गरेका थिए । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना नरोकिने उनले बताएका थिए । आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको उनले गुनासो गरिरहेका छन् ।