सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् ।
उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो । नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए । राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन् । सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै यो गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । त्यो गिरोहलाई तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईले आर्थिक लाभ लिएर सहयोग गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।