२०८१ आश्विन ८ , मंगलबार

‘ह्यासट्याग माया’ मा जोडिइन् नम्रता श्रेष्ठ

सुनाखरी न्युज/ काठमाडौं । लामो समयदेखि खाली रहेकी अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला नयाँ चलचित्रमा जोडिएकी छन् । उनी चलचित्र ‘ह्यासट्याग माया’ मा नायिकाको रुपमा जोडिएकी हुन् ।

 

अभिनेत्री नम्रता यस चलचित्रमा शीर्ष भूमिकामा छिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी छन्, ‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ, चलचित्रलाई लिएर उत्साहित छु,’ अभिनेत्री नम्रताले भनिन्, ‘केही नयाँ गर्ने प्रयास गर्दै छौं ।’यसअघि उनी चलचित्र प्रसाद २ मा नायिकाका रूपमा अनुबन्धित भएकी थिइन् । सो चलचित्रको कार्यशाला सकिएकाले छायांकनका क्रममा उनी चलचित्रबाट हट्नुपरेको थियो । त्यसपछिबाट खाली रहेकी यी अभिनेत्री यतिबेला यसै चलचित्रमा जोडिएकी हुन् ।

 

बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा ‘ह्यासट्याग माया’ शुक्रबार मुहूर्त गरियो । यस चलचित्रलाई राजीव गुरुङले निर्देशन गर्दै छन् । चलचित्रको यसै साताबाट छायांकन सुरु गरिनेछ । यस चलचित्रमा नम्रतासँगै सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहनेछ । निर्देशक गुरुङले चलचित्रको छायांकन काठमाडौंबाट सुरु भई पोखरा, बर्दिया हुँदै धरानमा करिब ३५ दिनमा सकिने जानकारी दिए ।