२०८१ पुष १० , बुधवार

ढाकाकुमारको स्थानमा विन्दावासिनीलाई सांसद बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्नूः सर्वोच्च

सुनाखरी न्युज/ काठमाडौं ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको स्थानमा विन्दावासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आफूलाई सांसद पदबाट हटाउने निर्णय अन्तरिम आदेशमार्फत् रोक लगाउन माग गर्दै श्रेष्ठले दिएको निवेदनमा सुनुवाइ गर्दै त्यसबारे आगामी जेठ ५ गते निर्णय दिने जनाएको छ । सर्वोच्चले उक्त दिनका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

 

 

 

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्नका लागि पार्टी नेतृत्व आसपासको कोर टिमलाई बुझाउन भनी दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यबाट निष्कासन गर्दै सांसदबाट पनि हटाउने निर्णय गरेको थियो । उक्त निर्णय भएकै दिन श्रेष्ठलाई सांसदबाट हटाएपछिको रिक्त स्थानमा समानुपातिक सूचीकी कंसाकारलाई सिफारिस गर्ने पनि निर्णय गरेको थियो ।

 

जेठ ५ मा हुने छलफलले श्रेष्ठलाई सांसदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई अन्तरिम आदेशमार्फत् रोक लगाउने वा नलगाउने निर्णय दिनेछ । यद्यपि उक्त दिनसम्मका लागि कंसाकारले सांसदका रूपमा काम गर्न पाउने छैनन् । निवेदक श्रेष्ठका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमणकुमार श्रेष्ठले बहस गरेका थिए ।

 

स्वतन्त्र पार्टीको निर्णयबमोजिम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद नरहेको सूचना सभालाई जानकारी गराएका थिए । त्यसपछि निर्वाचन आयोगले रिक्त पदमा कंसाकार निर्वाचित भएको भन्दै प्रमाणपत्र दिएको थियो । कंसाकारले शपथ लिन भने बाँकी नै छ ।