२०८१ पुष २६ , शुक्रवार

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश

सुनाखरी न्युज/ काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ ।

 

पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो । गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खानलाई सर्वोच्च अदालतले अपराह्न ४:३० बजे उपस्थित हुन आदेश दिएको थियो तर एक घण्टापछि साँझ ५:४० बजे उहाँलाई उपस्थित गराइएको थियो । पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उहाँलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो । खानको गिरफ्तारीलाई चुनौती दिने पीटीआईको अपिलमाथि बहस गर्ने तीन सदस्यीय बेन्चको अध्यक्षता गर्दै प्रधान न्यायाधीशले यस्तो टिप्पणी गरेका हुन् ।

 

इजलासमा पाकिस्तानका प्रधान न्यायाधीशका अतिरिक्त न्यायाधीश मोहम्मद अली मजहर र अताल मिनाल्लाह पनि छन् । एआरवाई न्यूजका अनुसार राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले खानको गिरफ्तारीलाई ‘वैध’ ठहर गर्ने इस्लामाबाद उच्च अदालत (आईएचसी) को निर्णयलाई चुनौती दिँदै पीटीआईले सर्वोच्च अदालतमा एक याचिका दायर गरेको थियो ।

 

खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको छ । पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । देशभरबाट सयौँ प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।