२०८१ पुष २९ , सोमवार

वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित

सुनाखरी न्युज/ काठमाडौं । वीर अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलित भएका छन्। चिकित्सकहरुको मासिक निर्वाह भत्ता विगत तीन महिनादेखि प्राप्त नभएको भन्दै उनीहरु आन्दोलित भएका छन्।

 

साथै आवासीय चिकित्सकहरुको शैक्षिक गतिविधि, तालिम तथा परीक्षा सन्चालनमा गम्भीर असर परेको उनीहरुको भनाइ छ। निर्वाह भत्ताका विषयमा सरोकारवाला निकायहरुमा पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा समेत कुनै किसिमको सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका अध्यक्ष डा शेषराज घिमिरेले जानकारी दिए।

 

आन्दोलन अन्तर्गत आवासीय चिकित्सकहरुले बुधबार कालो पट्टीसहित सेवा प्रदान गरेका छन्। उनीहरुले बिहीवार बिहान ९ बजेदेखि १० बजेसम्म सबै काम छोडी अस्पताल परिसरमा धर्ना दिने, शुक्रबार र शनिबार पनि परिसरमा धर्ना दिने कार्यक्रम तय गरेका छन्। माग सम्बोधन नभए आइतबारदेखि सम्पूर्ण आवासीय चिकित्सकहरु कुनै पनि किसिमको सेवामा संलग्न नहुने अध्यक्ष घिमिरेले जनाएका छन्।