सुनाखरी न्युज/ काठमाडौं । अर्थतन्त्र तथा नेपालको कुल ग्राहस्थ उत्पादनमा निजी क्षेत्रले ८१ प्रतिशत योगदान दिएको तथ्य देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा गरेको ‘द स्टेट अफ प्राइभेट सेक्टर’ विषयक अध्ययनले जीडीपीमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखिएको हो ।
महासंघका अध्यक्ष चन्द्र ढकालले अध्ययनले निजी क्षेत्रको विशाल योगदान देखाएकाले सरकारले निजी क्षेत्रमैत्री नीति तर्जुमा गर्नुपर्ने आवश्यकता झन बढेर गएको बताए । उनले निजी क्षेत्रलाई सम्मानजनक व्यवहार गर्न माग गर्दै निजी क्षेत्रबिना देशको विकास हुँदैन उदाहरण अध्ययन प्रतिवेदनमा प्रस्तुत सूचकहरुले पनि देखाएको दाबी गरे । उक्त: अध्ययन प्रतिवेदन अनुसार नेपालको कुल रोजगारी सिर्जनामा निजी क्षेत्रले ८५ प्रतिशत योगदान दिएको उल्लेख छ ।
आइएफसीका नेपाल प्रतिनिधि बाबाकर सेद्ख फायले हालसम्म जीडीपीमा निजी क्षेत्रको योगदानबारे अध्ययन नभएको भन्दै नेपालमा अहिले गरिएको अध्ययन नै पहिलो अध्ययन भएको जनाए । यस अध्ययनका क्रममा नेपालका पाँचसय १७ फर्महरुलाई सर्वेक्षणमा सहभागी गराइएको बताइएको छ ।