२०८१ मंसिर ९ , आइतवार

सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै, प्रदेशको डिजिटल क्षमता बारे संवाद र प्रस्तुति हुने

सुनाखरी न्युज/ पोखरा । सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवाद हुने भएको हो ।

डिजिटल गण्डकी संवादमा प्रदेशको डिजिटल क्षमता र अवस्था बारे वृहत छलफल हुनेछ । संवादमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, पोखरा महानगरपालिकाका मेयर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ । कार्यक्रममा गभर्मेन्ट आर्किटेक्ट विज्ञ विवेक राणा, प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई-गभर्नेन्स विज्ञ विज्ञान सत्याल र नेपाल दूरसञ्चार प्राधिकरणले कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यान डिसकसन सेसन समेत हुने जनाइएको छ । यार्सा टेकका संस्थापक एनजे सुवेदी, फोनपेका सीईओ दिवस सापकोटा, प्रदेश मन्त्रालयका सचिव, मेयर र सरोकारवालाहरूबीच प्यानल सेसन हुनेछ ।

यसअघि कोशी, मधेश, बागमती, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा डिजिटल संवाद सफलतापूर्वक सम्पन्न भइसकेको छ । सोमबार पोखरामा डिजिटल गण्डकी संवादसँगै विशेष कार्यक्रमसहित डिजिटल प्रदेश संवादको समापन गरिनेछ । सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ । त्यसपछि ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम र सहभागिताको लागि www.digitalsamvad.org हेर्न सकिनेछ । संवादमा निःशुल्क सहभागी हुने सकिने छ ।