२०८१ मंसिर १४ , शुक्रवार

शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिमाथि छानविन नगरेकाे भन्दै नागरिक अगुवाहरुको आपत्ति

सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरुमाथि अनुसन्धान नगरिएकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् ।

 

पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेल र संस्कृतिविद् त्रिरत्न मानन्धरले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरुको बयानमा मुछिएकाहरुमाथि अनुसन्धान अघि नबढाई मुद्धा दर्ता गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

 

विगतका ठूला भ्रष्टाचार काण्डहरुमा झैं यस पटक पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर गरिएको पनि उनीहरुले बताएका छन् । ‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याइ विगतका अरू भ्रष्टाचार काण्डमा झैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको प्रति हाम्रो गम्भीर आपत्ति छ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

उक्त प्रकरणमा मुछिएको प्रमाण देखिएका वा देखिन सक्ने कसैलाई पनि कठघरामा उभ्याउन सरकार नचुकोस् भन्ने माग पनि उनीहरुले गरको छन् । त्यसो हुन नसके आम नागरिकको आक्रोश चुलिने र त्यसले गम्भीर दूर्घटना निम्त्याउने भन्दै नागरिक अगुवाहरुले त्यसका लागि तयार रहन पनि चेतावनी दिएका छन् ।

 

नक्कली शरणार्थी प्रकरणमा बुधबार ३० जनाविरूद्ध ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरूद्धको अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकाहरुको बयानले उक्त प्रकरणमा उच्च राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्व समेत संलग्न रहेको देखाएको छ । तर, उनीहरुलाई सामान्य सोधपुछ समेत नगरी छाड्ने प्रपञ्च भईरहेको आशंका ब्यापक छ ।