२०८१ आश्विन ८ , मंगलबार

कलाकार संघको विभिन्न मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण

सुनाखरी न्युज/ काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । भेटमा कलाकारहरूले भ्रष्टाचार, दण्डहीनता, अनियमिततालगायत विषय अन्त्य गर्न माग गरेको छ । सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले सिंहदरबार उनको कार्यकक्षमा भेट गर्दै भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाइ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

 

सङ्घले आफ्नो परिचय पत्रवाहक कलाकारहरूलाई सिंहदरबार लगायतका प्रशासनिक केन्द्रहरू प्रवेशमा सहजता दिन मागसमेत गरेको छ ।भेटपछि कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले भने, ‘उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँगको भेटमा हामीले धापासीस्थित नेपाल चलचित्र कलाकार सङ्घको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरेका छौँ । विशिष्ट चलचित्रकर्मीहरूलगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अर्बौं रकम सिभिल सहकारीमा रकम अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन अनुरोध पनि गरेका छौँ ।’

 

भेटमा कलाकार सङ्घकी संरक्षक वसुन्धरा भुसाल, दिनेश डी.सी, विशिष्ट कलाकार भुवन चन्द, चत्यदेवी सिंह, सरिता लामिछाने, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य चेतन सापकोटा, सङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष कविता गेलाल, उपाध्यक्ष शिवहरि नेपाल (वैरागी ), महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनील कटुवाल, सह कोषाध्यक्ष, पवित्रा आचार्य र केन्द्रीय सदस्यहरू गोपाल ढकाल (छन्दे ), उद्धव भट्टराई, पवन खतिवडा, पुकार भट्टराई, सरिता राजोपाध्याय र नम्रता खरेल सहभागी थिए ।