२०८१ पुष २९ , सोमवार

धुलो भरिएको हावाले आँखामा पर्दछ नराम्रो असर, यसरी बचाउनुहोस्

सुनाखरी न्युज/ काठमाडौं । यतिबेलाको मौसम प्रदुषण, चर्को घाम र धुलोले भरिएको हावाले मानिसलाई समस्या हुन्छ । यस्तो बेला धुलोले गर्ने अन्य असर आफ्नो ठाउँमा छँदैछ । साथमा यसले आँखालाई पनि एकदमै नराम्रो असर गरिरहेको छ । त्यसैले यस्तो प्रदुषित धुलोबाट आँखालाई जोगाउन हामी यहाँ केही विशेष तरिकाहरु बताउनेछौं जसलाई अपनाएर तपाईं पनि आफ्नो आँखाको सुरक्षा गर्न सक्नुहुनेछ ।

 

चस्मा लगाएर बाहिर निस्कने
धुलोले भरिएको हावाबाट आँखालाई बचाउन घरबाट बाहिर निस्कँदा जहिले पनि चस्मा लगाउने गर्नुस् । अहिले मौसम पनि गर्मीको छ त्यसैले आँखाको सुरक्षाका लागि सनग्लास पनि लगाउन सकिन्छ । चस्मा लगाउँदा धुलो माटोहरु रेटिनाको सम्पर्कमा आउँदैनन् जसले गर्दा आँखा पोल्ने, दुख्ने तथा पानी आइरहने समस्याबाट बच्न सकिन्छ ।

गुलाब जलको प्रयोग
धुलोले भरिएको हावाबाट आँखालाई जोगाउन सधैं आफूसँग गुलाब जलको स्प्रे बोतल साथमा राख्नुहोस् । दिउँसोको समयमा जतिबेला कामबाट फुर्सद मिल्छ गुलाब जलको प्रयोग आँखामा गर्नुहोस् । यसको प्रयोगले आँखालाई सितल बनाउँछ । साथै धुलो माटोबाट हुने समस्याबाट पनि छुट्कारा दिन्छ । यसबाहेक रातमा गुलाब जललाई कपासमा लगाएर आँखाका वरिपरि लगाएर सुत्न सक्नुहुन्छ ।

 

पानीले धुने

धुलोले भरिएको हावामा हिँडेपछि आँखालाई सफा पानीले धुनु एकदमै आवश्यक हुन्छ । किनकी धेरैबेर उक्त धुलो रहेमा त्यसले आँखा पोल्ने तथा चिलाउने समस्या हुन सक्छ ।

काँक्रो र एलोबेरा जेल
प्रदुषणबाट आँखालाई बचाउन काँक्रो र एलोभेराको प्रयोग गर्न सकिन्छ । यदि आँखा पोल्ने समस्या भएको छ भने सुत्नुअघि आँखामा काँक्राको टुक्रा लगाउन सकिन्छ । १० देखि १५ मिनेट आँखा हल्का बन्द गरेर त्यसमा काँक्राको टुक्रा राख्ने गरेमा आँखा पोल्ने तथा चिलाउने समस्या कम हुन्छ । त्यस्तै आँखाको वरिपरि एलोभेरा जेलले मसाज गर्न सकिन्छ । एजेन्सी ।