२०८१ आश्विन ८ , मंगलबार

अभिनेत्री विपना थापा ‘युग नायिका’ उपाधिद्वारा सम्मानित

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा कलाकारलाई विभिन्न उपाधि दिने होडबाजी छ । त्यसरी दिएको उपाधि बेलाबेलामा विवादमा समेत पर्दै आएका छन् ।

 

यस्तैमा पुरानी अभिनेत्री बिपना थापालाई ‘युग नायिका’ उपाधि दिइएको छ । शनिवार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई अभिनयका कारणले यो उपाधि दिइएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायाकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरे ।‘जन्मभूमि’ बाट फिल्म अभिनयमा भित्रिएकी बिपनाले थुप्रै फिल्म अभिनय गरेकी छन् ।

 

विवाहपछि भारतमा बस्दै आएकी बिपना सम्मान लिनकै भनेर बिहीबार नेपाल आएकी थिइन् । उनी केही दिनमै भारत फर्किनेछिन् । कार्यक्रममा उनीद्वारा अभिनीत फिल्मका चर्चित गीतहरूमा अभिनेत्री नम्रता सापकोटा, अभिनेताद्वय दिक्पाल कार्की, यशराजलगायतले नृत्य गर्दै ‘ट्रिब्यूट’ दिएका थिए । बिपनाले पनि कार्यक्रममा आफ्नै गीत ‘आगो लाग्यो दिलैमा’ मा नृत्य गरेकी थिइन् ।