२०८१ माघ ३ , बिहिवार

विन्ध्यवासिनी मा वि मा पुरस्कार तथा छात्रवृत्ति वितरण,पुरानै ढर्राले नयाँ विकास हुदैनःमन्ती सिम्खडा

शिशिर उजाड/ पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडाले पुरानै ढर्राको निति तथा योजनाले प्रदेशको विकास संभव नहुने बताउनुभएको छ।

 

पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा विको वार्षिक पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै मन्त्री सिम्खडाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ विकास ल्याउने गरी आफु सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो। उहाँले शिक्षा र स्वास्थ्यमा जनताले अनुभूति गर्ने गरी र परिणाम देखिने गरी कार्यक्रम ल्याउन आफुले विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरी रहेको बताउनुभयो। मन्त्री सिम्खडाले भन्नुभयो _ स्वतन्त्र ढंगले योजना बनाए पनि, कार्यान्वयन गर्न गाह्रो छ, तर म अनुभूति दिलाउने गरी काम गर्छु । उहाँले नेपालकै उत्कृष्ट नमुना विद्यालय बनेर प्रदेशकै ईज्जत राखेको भन्दै विद्यालयका समस्या समाधान गर्ने दायित्व आफ्नो पनि रहेको स्पष्ट पार्नुभयो।

 

एक अर्को प्रसङ्गमा मन्त्री सिम्खडाले आफ्नो मन्त्रालयले कुनै पनि कार्यक्रममा खाँदाको प्रयोगलाई निषेध गरेको प्रष्ट पार्नुभयो। पोखरा १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालय उत्कृष्ट हुनुमा सरोकारवाला सबैको भुमिका महत्वपुर्ण रहेको बताउँदै, अन्य विद्यालयले पनि सिको गर्नुपर्नेमा जोड दिनुभयो। विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयकाे प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरका लागि विद्यालयले सबै पक्षसँग समन्वय गरिरहेको बताउनुभयो। कार्यक्रममा कक्षा नर्सरी देखि १२ सम्मको शैक्षिक तथा खेलकुद पुरस्कार र छात्रवृत्ति वितरण गरिएको छ। उत्कृष्ट विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चन्द्रा कुमारी थापा, पुर्व अध्यक्ष गोविन्द वहादुर वस्नेत, पुर्व प्रधानाध्यापक अग्नीधर शर्मा, अनुगमन समितिका संयोजक चित्र बहादुर थापा, सल्लाहकार दान बहादुर बानियाँ, बिद्यालय ब्यवस्थापन समितिका सदस्य ईन्दु भट्टराई लगायतकाले पुरस्कार वितरण गरेका थिए।

 

त्यस्तै शिक्षीका दुर्गा थापा र कर्मचारी राम बहादुर केसीलाई सम्मान सहित बिदाई गरिएको छ। सहायक प्रधानाध्यापक रामबहादुर बानियाँले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक दुर्गा सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीले सस्कृति झल्काउने नृत्य समेत प्रस्तुत गरेका थिए।