सुनाखरी न्युज/ काठमाडौं । जेठ १७ गतेदेखि असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० हुने भएको छ । आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिएको हो ।
मेलामा ज्येष्ठ १७ गतेदेखि असार १७ गते एक महिनासम्म सञ्चालनमा आउने मेलाका संयोजक दिवाकर गिरीले बताउनुभयो । उहाँले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीहरुलाई राहत दिने उद्देश्य पनि रहेको बताउनुभयो ।
मेलामा नेपालमा नै उत्पादित चर्चित ९ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ । मेलामा ३ हजार भन्दा बढीका मेडल र डिजाइनका जुत्ता चप्पल उपलब्ध हुने छन् । मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ । मेलामा प्रवेश भने निःशुल्क रहेको आयोजकले बताएको छ ।