२०८१ आश्विन ८ , मंगलबार

ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण अमेरिकाको न्युयोर्कमा हुने

सुनाखरी न्युज/ काठमाडौं । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैटौं संस्करण अमेरिकाको न्युयोर्कमा अगस्ट १२ तारिखमा हुने भएको छ।

 

चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिँदै आएको र यस वर्षको अवार्ड कार्यक्रम न्युयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए। ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करणको होस्ट अर्गनाइजर ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्क रहने छ। आयोजकको रूपमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा गर्ने अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए।

 

अवार्डका अघिल्ला पांच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए। अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्नु रहेको आयोजक संस्थाड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कका अध्यक्ष शैलेश श्रेष्ठले बताए। नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको समेत चलचित्र निर्देशक ८८४८ मिडिया हाउस एलएलसीका अध्यक्ष नारायण पुरी बताउँछन्। अवार्डको लागि चलचित्र छनोट समिति गठन भइसकेको र चलचित्र छनोट पनि भइरहेको छ । नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा समावेश हुने चलचित्रहरूको जानकारी केही दिनमा प्रेस विज्ञप्तिमार्फत गरिने अवार्डका प्रेस संयोजक सूर्य चन्दले जानकारी गराएका छन्।