२०८१ पुष २८ , आइतवार

एनआइबिएल एस क्यपिटल पनि अब नेसनल पेमेन्ट स्विचमा आबद्ध

सुनाखरी न्युज/ काठमाडौं । एनआइबिएल एस क्यपिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ।

 

यसका निम्ति एनआइबिएल एस क्यपिटलका तर्फबाट संस्थाका डेप्युटि प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौतापश्चात एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी लगायत तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछ।

 

एनआइबिएल एस क्यापिटल लिमिटेड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले सन् २०११ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, सम्पत्ति व्यवस्थापन सेवादेखि डिपोजिटरी पार्टिसिपेन्ट सम्बन्धी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ। एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको ल्एक्ष् मा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने १५ बीमा कम्पनीहरुका साथै अन्य पीएसपी तथा पीएसओ, रेमिट्यान्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरु लगायतका ९० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।