सुनाखरी न्युज / काठमाडौँ – बुढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको आठ करोड १८ लाख ८९ हजार ७९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको आरोपमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखाको पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । उक्त संस्थाका बचतकर्ताहरूबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप संकलन गरी संस्थाका सञ्चालकहरूले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरेको प्रहरीले जनाएको छ ।
बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको भनेर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वाग्मती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।