२०८१ मंसिर ४ , मंगलबार

गौतम बुद्धको मावली देवदहमा उत्खनन सुरु

सुनाखरी न्युज /  बुटवल  – बौद्ध ग्रन्थहरूमा सिद्धार्थ गौतमबुद्धको मावली देवदह भन्ने चर्चा छ । देवदहमै बुद्धकी आमा मायादेवी, सानीआमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्म भएको बौद्ध ग्रन्थमा उल्लेख गरिएका छन्। कोलीय गणराज्यको राजधानी देवदहलाई पवित्रस्थलका रूपमा बौद्धमार्गीले मान्दै आएका छन्।बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले संयुक्त रुपमा उत्खनन् को शुभारम्भ गरेका हुन् ।

 

लुम्बिनी विकास कोषले देवदहमा उत्खनन सुरु गरेको छ। देवदह नगरपालिका–९, मा रहेको खयरडाँडा क्षेत्रको उत्खनन कार्य सुरु भएको हो। लुम्बिनी विकास कोष र देवदह नगरपालिकाको विशेष पहलमा पुरातत्त्व विभागद्वारा कोलीय गणराज्यको राजधानी मानिएको पुरातात्त्वक क्षेत्र खयरडाँडाको उत्खनन कार्य सुरु गरेका छन्।

 

भगवान गौतम बुद्धको मावली देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरूको उत्खनन गरी वास्तविक देवदहको पहिचान गर्ने गरी उत्खनन कार्य अगाडि बढाइएको विकास कोषका पुरातत्त्वविद् हिमाल उप्रेतीले जानकारी दिए।देवदह क्षेत्रमा धेरै ऐतिहासिक स्थल रहेकोले प्राथमिकताको आधारमा उत्खनन गर्दै जाने योजना विकास कोषले बनाएको छ। उत्खनन पछि प्राप्त प्रमाणलाई स्वीकार गरेर जानुको कुनै विकल्प नभएको बताउँदै देवदह क्षेत्रमा धेरै दरबारको भग्नावशेष रहेको उनले जिकिर गरे।

 

उत्खननमा भेटिएका सामग्रीलाई संग्रहालयमा राखिनेछ। खयरडाँडाको उत्खनन करिब एक महिना हुने र उत्खननमा हिमाल उप्रेतीको नेतृत्वमा ७ जना पुरातत्त्वविद्हरूको सहभागिता रहेको छ। उत्खननमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्त्व अध्ययन गरिरहेका विद्यार्थीले सघाउने लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजूले बताए। बौद्ध स्मारक स्थलका रूपमा रहे पनि लुम्बिनी र तिलौराकोटबाहेक रामग्राम र देवदहको उत्खनन हुन सकेको छैन।