सुनाखरी न्युज/ काठमाडौँ ।नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ परेकाहरुको आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंका अनुसार १८ जनाको बयान शुक्रबार सकिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलास रहेको सो मुद्दाको थुनछेक बहस आजबाट सुरु हुने भएको हो । थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा नपठाउने टुंगो लाग्नेछ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पक्राउ परेकाहरुमध्ये शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान भएको थियो ।
३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो । पक्राउ परेका अधिकांशले आफूमाथि लागेको आरोप स्वीकार गरिरहेका छैनन् । उता पीडितको जाहेरी, गृह मन्त्रालयले शरणार्थी समस्या समाधानका लागि भन्दै बनाएको कार्यादलको प्रतिवेदन किर्ते भएको देखि विभिन्न तहमा बैंक खाता प्रयोग भएकाहरुसमेत पक्राउ परेकाले पर्याप्त प्रमाण रहेको प्रहरीको दाबी छ ।